मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:५० बजे मलंगवा नगरपालिका – ९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरुमा मलंगवा – ६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबि साह रहेका छन्। उनीहरु दुई जनालाई ट्रायल सेन्टरबाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए।
त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा – ६ का ४० वर्षीय प्रमोद कुमार यादव, मलंगवा – १ का ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी – ७ का ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर–१ का ४५ वर्षीय रामबिनय राय, कबिलासी–१ का ३२ वर्षीय रन्जन कुमार ठाकुर, चक्रघट्टा–२ का ४० वर्षीय प्रमोद साह र ईश्वरपुर–५ का ४१ वर्षीय योगेन्द्र महतो पक्राउ परेका छन्।
उनीहरुलाई प्रहरीको टोलीले सेवाग्राहीसँग अतिरिक्त रकम माग्दै काममा अवरोध पुर्याइरहेको अवस्थामा पक्राउ गरेको बताईएको छ। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।





