रौतहटमा चिट चोराएको आरोपमा शिक्षकसहित चार जना पक्राउ

२०८२ चैत्र २४, मंगलवार २०:४२
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा चिटिङ गराएको आरोपमा एक शिक्षकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ह्वाट्सएपमार्फत परीक्षार्थीलाई उत्तर उपलब्ध गराउने तथा चिटिङमा सहयोग गरेको आरोपमा चन्द्रपुर नगरपालिका – ६ का १९ वर्षीय रञ्जित साह, चन्द्रपुर–७ बनबहुअरीका ४० वर्षीय तेजनारायण चौधरी, गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र २४ वर्षीय समिर मन्सुरीलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका चौधरी मावि शितलपुर, गुजाराका शिक्षक समेत हुन्। मंगलबार भएको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाका क्रममा विभिन्न स्थानबाट बसेर ह्वाट्सएप समूह प्रयोग गर्दै परीक्षार्थीलाई उत्तर पठाउने कार्य भइरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूले संगठित रूपमा चिटिङ गराउने उद्देश्यले डिजिटल माध्यमको प्रयोग गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार