गोडैता – सर्लाहीको गोडैता नगरपालिकामा “स्थानीय तहमा पूर्ण संस्थागत सुत्केरी कार्यक्रम सञ्चालन कार्यविधि – २०८२” सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। बुधबार नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, सेभ द चिल्ड्रेन तथा गोडैता नगरपालिकाको संयुक्त समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै सुत्केरी महिलालाई अनिवार्य रूपमा स्वास्थ्य संस्थामै प्रसूति गराउने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा गहन छलफल गरिएको थियो। यस क्रममा विपन्न समुदायसम्म सेवा पहुँच विस्तार, स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन, आपत्कालीन प्रसूति सेवा सुदृढीकरण तथा गर्भवती महिलाको नियमित अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

सहभागीहरूले हाल गोडैता नगरपालिकाभित्र घरमै सुत्केरी हुने प्रवृत्ति उल्लेखनीय रूपमा घट्दै गएको उल्लेख गर्दै यस उपलब्धिलाई दिगो बनाउन सेवा गुणस्तरमा सुधार, स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रमहरूलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
छलफलका क्रममा स्थानीय तहको नीति तथा बजेटसँग कार्यक्रमलाई एकीकृत गर्दै दीर्घकालीन रूपमा संस्थागत प्रसूति सुनिश्चित गर्ने रणनीतिमा समेत विमर्श गरिएको थियो। सहभागीहरूले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालन तथा समुदायस्तरमा नियमित सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
छलफलपश्चात् कार्यविधि निर्माण प्रक्रियालाई तीव्रता दिन एक मस्यौदा समिति गठन गरिएको छ। उक्त समितिले सरोकारवालासँग थप परामर्श गर्दै छिट्टै कार्यविधिको अन्तिम रूप तयार पार्ने जिम्मेवारी पाएको छ। कार्यक्रममा नगरप्रमुख देवेन्द्र यादवले सुरक्षित मातृत्व प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै स्थानीय सरकारले यस क्षेत्रमा कुनै कसर बाँकी नराख्ने बताए।
कार्यक्रममा नगरप्रमुख देवेन्द्र यादव, उपप्रमुख अञ्जना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डित, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाका बाल संरक्षण अधिकृत अरविन्द प्रसाद कुशवाहा, लबिङ तथा नीतिगत अधिकृत जियालाल महतो, स्वास्थ्य अधिकृत सबनम यादव, बाल संरक्षण फिड सुपरभाइजर मोहम्मद सलामलगायत पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।





