लेखापढी व्यवसायी पक्राउ प्रकरण: बिना प्रमाण नियन्त्रणमा लिएको भन्दै रिहाइको माग

२०८२ चैत्र २६, बिहीबार १६:१४

सर्लाही – रौतहटका विभिन्न मालपोत कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूलाई राज्य पक्षले बिना ठोस प्रमाण पक्राउ गरेको भन्दै सम्बन्धित पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन्।

गौर र चन्द्रपुरबाट पक्राउ परेका पाँच जना लेखापढी व्यवसायीको अविलम्ब रिहाइको माग गर्दै उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।

मालपोत कार्यालय गौरबाट चार जना तथा चन्द्रपुरबाट एक जना गरी पाँच जना व्यवसायीलाई नियन्त्रणमा लिएर थुनामा राखिएको घटनाप्रति व्यवसायीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरूका अनुसार पक्राउ परेकाहरूलाई कुनै ठोस प्रमाणबिना नै नियन्त्रणमा लिइएको हो, जसले कानूनी प्रक्रिया र न्यायको आधारभूत मर्ममाथि प्रश्न उठाएको छ। व्यवसायीहरूले आफूहरू अदालतबाट विधिवत् लाइसेन्स प्राप्त गरी मालपोत कार्यालयमार्फत भू–सेवा केन्द्र सञ्चालन गर्दै सेवाग्राहीलाई सहजीकरण गर्दै आएको जनाएका छन्।

यस्तो अवस्थामा अचानक गरिएको धरपकडले उनीहरूको सामाजिक प्रतिष्ठा र पेशागत मर्यादामा गम्भीर असर पुगेको उनीहरूको गुनासो छ। यस घटनाप्रति असन्तुष्टि जनाउँदै लेखापढी व्यवसायी एसोसिएशनका गौर, चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन गौरका अध्यक्ष हरिनारायण साह, चन्द्रपुर इकाइ अध्यक्ष दिननारायण चौधरी, गरुडा इकाइ अध्यक्ष हेमलाल साह र मौलापुर इकाइ अध्यक्ष बालेकिस्मत यादवसहितको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई भेटी ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्बन्धित निकायहरूसँग समन्वय गरी समस्याको यथाशीघ्र समाधान गर्न तथा आगामी दिनमा यस्ता अपमानजनक र गैरकानूनी घटनाहरू दोहोरिन नदिन प्रशासनको गम्भीर ध्यानाकर्षण गराएका छन्। साथै, माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार