गोडैतामा निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

२०८२ चैत्र २८, शनिबार १९:४२

गोडैता – सर्लाहीको गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. वीरगञ्जको सहयोगमा सञ्चालन गरिएको एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा व्यापक स्वास्थ्य सेवा प्रदान गरिएको थियो। शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

शिविरबाट जम्मा १ हजार ५० जनाले प्रत्यक्ष लाभ लिएका छन्। लाभग्राहीमध्ये बालबालिकासहित ६ सय ५० जना पुरुष र ४ सय जना महिला रहेका छन्। ग्रामीण भेगका नागरिकलाई सहज पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित सञ्चालन गरिएको शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

साथै, यस्ता कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। साउथ सिटी हिमाल हस्पिटल प्रा.लि., वीरगञ्जका चिकित्सकहरुले शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष सेवा दिन पाउँदा खुशी लागेको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार