धनुषा, कैलाली र कपिलवस्तुका एसपीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले गरायो सचेत

२०८३ बैशाख १, मंगलवार १९:०७

सर्लाही – सशस्त्र प्रहरी बलले धनुषा, कैलाली र कपिलवस्तुमा कार्यरत तीन जना उपरीक्षक (एसपी)लाई सशस्त्र प्रहरी प्रधान कार्यालयले हेडक्वाटर बोलाएर सचेत गराएको छ। कार्यसम्पादनमा देखिएको कमजोरी र अनुशासन सम्बन्धी विषयमा चासो जनाउँदै उनीहरूलाई चेतावनीसहित जिम्मेवारीमा फर्काइएको हो।

स्रोतका अनुसार धनुषाका एसपी भीम विष्ट, कैलालीका खुम केसी र कपिलवस्तुका गोपाल अधिकारीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा उपस्थित गराई स्पष्टीकरण लिइएको थियो। उनीहरूको कार्यक्षेत्रमा देखिएका घटनाक्रमका आधारमा हेडक्वाटरले असन्तुष्टि जनाएको बताइएको छ।

धनुषामा एसपी मातहतका सुरक्षाकर्मीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस्तै, कैलाली र कपिलवस्तुमा स्थानीय समूहसँग सशस्त्र प्रहरीबीच भएको विवादमा प्रभावकारी कमाण्ड कन्ट्रोल कायम गर्न नसकेको ठहर गर्दै सम्बन्धित एसपीलाई सचेत गराइएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयले आगामी दिनमा यस्ता कमजोरी दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै सीमाक्षेत्रमा राजस्व चुहावट नियन्त्रण गर्न सक्रियता बढाउन र कार्यसम्पादनमा सुधार ल्याउन निर्देशनसमेत दिइएको छ। निर्देशनअनुसार तत्काल सुधार नदेखिए पुनः मुख्यालय फिर्ता बोलाउने चेतावनी पनि दिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार