सर्लाही – भारतको बिहार राज्यमा नयाँ राजनीतिक समीकरण बनेसँगै भारतीय जनता पार्टी (बीजेपी) का नेता सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले विधानसभाको संसदीय दलको नेतामा चौधरीलाई सर्वसम्मत रूपमा चयन गरेपछि उनको मुख्यमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुलेको हो।
एनडिएभित्रको यो निर्णयपछि राज्यमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ । यसअघि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका नितिश कुमारले पदबाट राजीनामा दिएपछि बिहारको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको हो । उनी राज्यसभा सदस्य बन्ने तयारीसँगै कार्यकारी भूमिकाबाट अलग भएका हुन् ।

सम्राट चौधरीले सरकार गठनका लागि राज्यपालसमक्ष दाबी पेश गरिसकेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको शपथ ग्रहण बुधबार हुने सम्भावना रहेको छ । नेता चयनपछि चौधरीले पार्टी नेतृत्व, सहयोगी दल र कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले लामो राजनीतिक अनुभवलाई आधार बनाएर बिहारको विकास र सुशासनलाई प्राथमिकता दिने बताएका छन् । गत विधानसभा निर्वाचनमा एनडिएले २४३ सिटमध्ये २०२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो ।
करिब दुई दशकभन्दा बढी समय विभिन्न कार्यकालमा बिहारको नेतृत्व सम्हालेका ७५ वर्षीय नितिश कुमारको युग अन्त्य भएसँगै राज्यमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ।





