मधेस प्रदेशका १३६ पालिकामा स्वच्छ र सुन्दर शहर अभियान सञ्चालन गरिने

२०८३ बैशाख १, मंगलवार २१:०७

सर्लाही – मधेस प्रदेश सरकारले प्रदेशका १३६ वटै स्थानीय तहमा स्वच्छ, सफा र सुन्दर शहर निर्माण अभियान सञ्चालन गर्ने भएको छ। जनकपुरधामबाट सुरु गरिएको यो अभियान अब विस्तार गर्दै सम्पूर्ण प्रदेशभर लागू गरिने प्रदेश सरकारको योजना रहेको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक स्थानहरूको संरक्षण, सरसफाइ तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइने जानकारी दिएका छन्।

उनका अनुसार जनकपुरधामबाट सुरु भएको यो कार्यक्रम अब मधेस प्रदेशका सबै नगरपालिका र गाउँपालिकामा विस्तार गरिनेछ।

मन्त्री महतोले गत चैत २७ गते जनकपुरधाममा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूको समन्वयमा बसेको बैठकमा सार्वजनिक सम्पत्तिको संरक्षण, अवैध अतिक्रमण हटाउने र शहरलाई व्यवस्थित बनाउने विषयमा आवश्यक निर्देशन दिइएको बताए।

उनले धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण जनकपुरधामलाई स्वच्छ र व्यवस्थित शहरका रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने उल्लेख गरे। यसबाट क्षेत्रको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको भन्दै मन्त्री महतोले विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार