सर्लाही – इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झा एक महिनापछि मुक्त भएका छन्। झा गत ४ चैतमा पक्राउ परेका थिए।
व्यापारिक पानीजहाजका क्याप्टेन रहेका झा सवार जहाजलाई इरानको स्ट्रेट अफ हर्मुज क्षेत्रमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

उनी बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल झा इरानको केस्म टापुमा रहेका छन्। सरकारले झाको रिहाइका लागि घटनापछि निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो।





