सर्लाही – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति नेपाली कांग्रेसले औपचारिक रूपमा आपत्ति जनाएको छ। बालेन्द्र शाह नेतृत्वमा भएको उक्त निर्णयले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष असर पर्ने कांग्रेसको भनाइ छ।
सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो कदम संवैधानिक मूल्य मान्यताविपरीत भएको निष्कर्ष निकालेको छ। बैठकपछि जारी वक्तव्यमा सरकारलाई नियमन गर्ने अधिकार भए पनि सञ्चार माध्यमबीच विभेद गर्न नपाइने स्पष्ट पारिएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसे ले जारी गरेको वक्तव्यमा निर्णय सच्याएर सबै सञ्चार माध्यमप्रति समान व्यवहार गर्न आग्रह गरिएको छ। साथै, विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, निष्पक्ष र मापदण्डमा आधारित बनाउनुपर्नेमा जोड दिइएको छ।
उक्त निर्णयको विरोधमा पत्रकार सम्बद्ध संघसंस्था तथा निजी सञ्चार क्षेत्रका प्रतिनिधिहरूले पनि असन्तुष्टि जनाएका छन्। कांग्रेसले यस्तो नीति निरन्तर रहँदा लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रता कमजोर बन्ने चेतावनी दिएको छ।





