सर्लाही – सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष प्रदेशका जटिल समस्या र आवश्यकताहरू स्पष्ट रूपमा राखेका छन्। उनले विशेषगरी अनुदान, राजस्व बाँडफाँट र कृषि क्षेत्रसँग सम्बन्धित विषयमा संघीय सरकारको ध्यानाकर्षण गराए।
मुख्यमन्त्री यादवले मधेसमा अनुदान कटौतीले विकास गतिविधि प्रभावित भएको भन्दै तत्काल पुनःस्थापनाको माग गरे। उनले वर्तमान राजस्व बाँडफाँट प्रणालीले भूगोल र जनसङ्ख्याको आधारमा मधेसलाई न्यायोचित हिस्सा नदिएको उल्लेख गरे। प्राकृतिक स्रोतको अभावका कारण प्रदेशले थप आर्थिक चुनौती भोग्नुपरेको उनको भनाइ थियो।

कृषिमा निर्भर मधेसको अर्थतन्त्र सुदृढ गर्न सिँचाइ, मल र बीउको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। ‘फिड द नेसन’ अवधारणालाई सफल बनाउन संघीय सरकारको सक्रिय सहयोग अपरिहार्य रहेको उनले बताए।
यादवले धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि जनकपुर–अयोध्या ‘सीता सर्किट’ निर्माण र प्रदेशका विमानस्थल विस्तारको प्रस्ताव पनि अघि सारे। उनका अनुसार यस्ता योजनाले मधेसको आर्थिक गतिविधि बढाउन टेवा पुर्याउनेछन्।
प्रधानमन्त्री शाहले मुख्यमन्त्री यादवका प्रस्ताव र गुनासो सुन्दै संघीय सरकार प्रदेशसँग सहकार्य गर्दै आवश्यकताअनुसार स्रोतसाधनको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए।





