सर्लाही – जेनजी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
हाडनाता जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका रौतहटको डुमरिया गाउँपालिका – १० निवासी ३० वर्षीय केदार परियारलाई पोखरा महानगरपालिका – ९ स्थित पृथ्वीचोकबाट बिहीबार पक्राउ गरिएको हो।

उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। परियार जिल्ला अदालत रौतहटको फैसलाअनुसार रौतहट कारागारमा सजाय काटिरहेका थिए।
उनि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। प्रहरीका अनुसार फरार रहँदै आएका परियारलाई विशेष सूचनाका आधारमा खोजी गरी पक्राउ गरिएको हो। हाल उनको अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।
पक्राउ परेका परियारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कास्की कारागारमा राखिएको र थप प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन्।





