मलंगवा – सर्लाही जिल्लासँग सीमा जोडिएको भारत–नेपाल सीमाक्षेत्रमा शुक्रबार दिउँसो मोटरसाइकल नियन्त्रणका कारण केही समय तनाव उत्पन्न भएको छ।
भारततर्फको सोनबरसा थाना क्षेत्रअन्तर्गत इन्दरवा गाउँ नजिक नेपालतर्फ आफ्नै खेतमा जाँदै गरेका एक भारतीय नागरिकको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको बताईएको छ।

घटनापछि आक्रोशित भारतीय नागरिकहरूले पनि प्रतिक्रिया स्वरूप केही नेपालीहरूको मोटरसाइकल नियन्त्रणमा लिन थालेका थिए। यसले सीमाक्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना गरेको थियो।
स्थिति नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीबीच तत्काल छलफल गरिएको थियो। छलफलपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भारतीय नागरिकको मोटरसाइकल फिर्ता गरेसँगै अवस्था क्रमशः सामान्य बनेको जनाइएको छ।
स्थानीयका अनुसार भारतको इन्दरवा क्षेत्रका बासिन्दाको नेपालतर्फका केहि क्षेत्रमा सयौँ बिघा जमिन रहेको भन्दै लामो समयदेखि खेतीपाती गर्दै आएका छन्। पछिल्ला केही दिनयता अनुमति बिना भारतीय नम्बर प्लेटका सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाइँदै आएकोले यस्तो विवाद देखिएको बताइएको छ।





