सर्लाहीको गोडैतामा कैँची प्रहारबाट एक युवक घाइते, दुई जना पक्राउ

२०८३ बैशाख ५, शनिबार २०:३३

मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – ७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् भने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार साँझ करिब ६:१५ बजे गोडैता नगरपालिका – ७ मा पुरानो रिसइबीका कारण दुई पक्षबीच विवाद हुँदा झै–झगडा भएको थियो। सोही क्रममा गोडैता – ७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ।

कैंची प्रहारबाट घाइते भएका दासको टाउको र पिठ्युँमा चोट लागेको छ। गोडैतामा सामान्य उपचारपछि प्रादेशिक अस्पताल मलंगवामा लगिएका उनलाई त्यहाँबाट पनि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल अस्पतालमा रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा गोडैता – ७ का १८ वर्षीय इबरान दर्जी मियाँ र वडा नं. ९ का १८ वर्षीय अपसैद बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार