मलंगवा – सर्लाहीको धनकौल गाउँपालिकामा नि:शुल्क सञ्चालित एम्बुलेन्स सेवाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन्। आवश्यक परेको समयमा एम्बुलेन्स उपलब्ध नभएको र सेवामा लापरबाही भएको भन्दै सेवाग्राहीले गुनासो गरेका हुन्।
मधेश प्रदेश ०७–००१ झा ०००५ नम्बरको एम्बुलेन्सका चालक जितेन साहमाथि मनोमानी गर्ने र गलत जानकारी दिने आरोप लागेको छ। केही दिनअघि एक स्थानीयले आफन्त बिरामी परेपछि एम्बुलेन्सका लागि चालक साहसँग सम्पर्क गरेका थिए। तर, उनले आफू एम्बुलेन्ससहित सदरमुकाम मलंगवा गएको जानकारी दिएका थिए।

तर ती स्थानीय बिरामीलाई लिएर धनकौल बजार पुगेपछि सोही समयमा एम्बुलेन्स गाउँपालिकाको कार्यालय अगाडि नै रहेको देखिएको थियो। अन्य व्यक्तिसँग बुझ्दा पनि उक्त दिन एम्बुलेन्स कतै बाहिर नगएको पुष्टि भएको स्थानीयको भनाइ छ।
ति स्थानीयका अनुसार त्यसपछि चालकसँग सम्पर्क गर्न खोज्दा उनले फोन नउठाएको र पछि एम्बुलेन्स रहेको स्थानमा पुगेपछि दुवै पक्षबीच विवादसमेत भएको बताइएको छ। उक्त भिडियो अहिले सामाजिक संजालमा ‘भाईरल’ भईरहेको छ।
घटनाबारे धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले आफूलाई यसबारे जानकारी नभएको बताए। “अहिलेसम्म कसैले औपचारिक रुपमा जानकारी गराएको छैन। अब यस विषयमा बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं,” उनले धड्कन एफ एमसंग भने।
चालक साहसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने बताएका थिए। त्यसपछि पटक–पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन्। स्थानीयले एम्बुलेन्स जस्तो संवेदनशील सेवामा लापरबाही हुनु गम्भीर विषय भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।





