सीमा नाकामा सर्वसाधारणलाई दुःख नदिन डीआईजी थपलियाको निर्देशन

२०८३ बैशाख ६, आईतवार १०:१६

सर्लाही – मधेस प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले सीमा नाकाहरूमा सर्वसाधारणलाई अनावश्यक दुःख नदिन मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।

उनले विशेषगरी दैनिक उपभोगका लागि ल्याइने सामान्य घरायसी सामानमा अनावश्यक जाँच, रोकतोक र हैरानी नगर्न स्पष्ट रूपमा भनेका छन्। यस्तो गतिविधि तत्काल रोक्नुपर्नेमा उनले जोड दिएका छन्।

डीआईजी थपलियाले सीमाक्षेत्रमा शान्ति–सुरक्षा कायम राख्नुका साथै नागरिकप्रति मैत्रीपूर्ण व्यवहार अपनाउन निर्देशन दिएका छन्। नियम कार्यान्वयन गर्दा सर्वसाधारणको दैनिक जीवन प्रभावित नहुने गरी संवेदनशील ढंगले काम गर्नुपर्ने उनको भनाइ छ।

सीमा नाकाहरूमा पछिल्लो समय भन्सार कडाइका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको गुनासो बढिरहेका बेला आएको यो निर्देशनलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार