कक्षा ११ का विद्यार्थीले गरे कक्षा १२ का विद्यार्थीको बिदाई

२०८३ बैशाख ७, सोमबार ११:४५

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित ग्रीण ल्याण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाई गरिएको छ। कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा १२ कक्षाका विद्यार्थीहरूलाई खादा ओढाएर तथा अंकमाल गर्दै विदाई गरिएको हो।

कार्यक्रममा सहभागी १२ कक्षाका विद्यार्थीहरू आफ्ना साथीहरूबाट पाएको सम्मानप्रति निकै हर्षित देखिएका थिए। दुई वर्षसम्म अध्ययन गरेको विद्यालयबाट यसरी विदा हुँदा उनीहरू भावुक समेत बनेका थिए। कार्यक्रममा विद्यार्थीहरूले एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

“चोरेर होइन, पढेर पास गरौं, समुन्नत राष्ट्र निर्माणका लागि चरित्रवान् नागरिक बनौं” भन्ने नाराका साथ स्थापना भएको उक्त विद्यालयले विगत १३ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। दक्ष तथा अनुभवी शिक्षकहरूको प्रयासका कारण विद्यालय जिल्लामै लोकप्रिय बनेको बताइन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार