मलंगवा – सर्लाही जिल्लासँग जोडिएको नेपाल–भारत सीमामा पर्ने भारतको सोनबरसा थाना क्षेत्रस्थित इन्दरवा गाउँ नजिक शुक्रबार दिउँसो भएको एक घटनाले सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना गर्यो । नेपालतर्फ रहेको आफ्नो खेततर्फ जाँदै गरेका एक भारतीय नागरिकको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो ।
घटनापछि आक्रोशित भारतीय नागरिकहरूले प्रतिक्रिया स्वरूप केही नेपाली नागरिकका मोटरसाइकलहरू समेत नियन्त्रणमा लिन थालेपछि अवस्था थप जटिल बनेको थियो । दुवै पक्षबिच बढ्दो तनावलाई नियन्त्रणमा लिन तत्काल नेपाल र भारतका सुरक्षाकर्मीबिच छलफल गरिएको थियो । छलफलपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गरेसँगै स्थिति सामान्य बनेको स्थानीय स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार भारतको इन्दरवा तथा सोनबरसा क्षेत्रका बासिन्दाहरूको सयौँ बिघा जमिन नेपालतर्फ सखुअवा, नोकैल्वा, पर्सा र पिपरा सरेह क्षेत्रमा फैलिएको छ, जहाँ उनीहरूले वर्षौंदेखि खेतीपाती गर्दै आएका छन् । दैनिक रूपमा सीमा पार आवतजावत उनीहरूको जीवनशैलीकै हिस्सा बनेको छ ।
तर पछिल्ला दिनहरूमा नेपालतर्फका सुरक्षाकर्मीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा कडाइ गर्न थालेपछि यस्तो विवाद सतहमा आएको हो । भन्सार तथा सीमा सुरक्षासम्बन्धी प्रचलित व्यवस्थाअनुसार विदेशी नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा अस्थायी अनुमति (भन्सार पास) लिनुपर्ने प्रावधान रहेको छ । यही नियमको कडाइसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू प्रभावित भएका छन् ।
यसैबिच, भन्सार कडाइको प्रतिकार स्वरूप भारततर्फ नेपाली नागरिकहरूलाई लक्षित गरी सवारी साधन रोक्ने तथा दबाब दिने घटनाहरू समेत सार्वजनिक भएका छन् । सर्लाहीको हरिपुर नगरपालिका स्थित हरैयाका एक व्यक्ति भारतको सितामढीस्थित ससुरालीबाट फर्कने क्रममा सोनबरसा क्षेत्रमा रोकिएका थिए ।
स्थानीय भारतीय व्यक्तिहरूले ‘नेपालमा हाम्रो गाडी छोड्न लगाऊ, नत्र यहाँबाट जान दिँदैनौँ’ भन्दै केही समय नियन्त्रणमा राखेको बताइएको छ । पछि स्थानीयस्तरमै समन्वय गरी उनी नेपाल फर्किन सफल भएका थिए ।
यस घटनामा नेपाली सुरक्षा निकायको प्रभावकारी पहल नदेखिएको भन्दै पीडितले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा भारतीय पक्षका केही व्यक्तिहरूले नेपाली सुरक्षाकर्मीप्रति आपत्तिजनक टिप्पणी गरेको पनि सुनिन्छ ।
यसै प्रकरणबिच नागरिकता र जग्गा स्वामित्वसम्बन्धी अर्को गम्भीर विषयसमेत बाहिर आएको छ । भारतीय पक्षका केही व्यक्तिहरूले नेपालतर्फ रहेको कैयौँ बिघा जमिन आफ्नो भएको दाबी गरिरहेका छन् । यसबारे रातोपाटीले गरेको खोजीका क्रममा भारततर्फकै एक सञ्चारकर्मीले केही भारतीय नागरिकहरूले नेपाली नागरिकता बनाएको र उनीहरूकै नाममा नेपालभित्र जग्गा रहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा समेत सीमा क्षेत्रका केही व्यक्तिहरूले आफूहरूसँग नेपाली नागरिकता रहेको खुला रूपमा बताइरहेको सुनिन्छ । यदि यी दाबीहरू सत्य ठहरिए भने यसले नागरिकता प्रणाली, भूमि व्यवस्थापन र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर प्रश्न उठाउने देखिन्छ ।
स्थानीयवासीको अनुसार खुला सीमाका कारण वर्षौंदेखि दुवै देशका नागरिकबिच वैवाहिक सम्बन्ध, खेतीपाती तथा आवतजावत सहज रूपमा हुँदै आएको भए पनि पछिल्ला घटनाहरूले सीमा क्षेत्रमा असहजता र अविश्वास बढाएको छ ।
सरोकारवालाहरूले नागरिकता वितरण प्रक्रिया, भूमि अभिलेख र सीमा क्षेत्रको अवस्थाबारे गहिरो छानबिन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सम्बन्धित निकायबाट यस विषयमा औपचारिक अनुसन्धान सुरु भएको जानकारी भने हालसम्म सार्वजनिक भएको छैन ।
यसैबिच, मधेस प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले सीमा नाकाहरूमा सर्वसाधारणलाई अनावश्यक दुःख नदिन मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । डीआईजी थपलियाले घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामानमा प्रहरी वा अन्य सम्बन्धित पक्षबाट अनावश्यक हैरानी दिने काम तुरुन्त बन्द गर्न स्पष्ट निर्देशन दिएका हुन् ।
उनले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकमैत्री व्यवहार कायम राख्न जोड दिँदै नियम कार्यान्वयनका क्रममा सर्वसाधारणको दैनिक जीवनमा असर नपर्ने गरी संवेदनशील भएर काम गर्न आग्रह गरेका छन् । हालै सीमा नाकाहरूमा भन्सार कडाइका कारण सर्वसाधारणले दुःख पाएको गुनासो बढ्दै गएको अवस्थामा डीआईजी थपलियाको यो निर्देशनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । – रातोपाटिबाट साभार





