मलंगवा – जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पछिल्ला दुई महिनामा ३३ जनाले आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार चैत महिनामा मात्रै १८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ६ जना बालिका, ७ जना महिला र ५ जना पुरुष रहेका छन्। यसअघि फागुन महिनामा १५ जनाले आत्महत्या गरेका थिए।

आत्महत्या गर्नेहरूमध्ये १६ वर्षमुनिका बालबालिका समेत रहेको प्रहरीले जनाएको छ, जसले घटनाको गम्भीरता थप बढाएको छ। यसमध्ये अधिकांशले झुण्डिएर आत्महत्या गरेको बताईएको छ।
लगातार बढ्दै गएको आत्महत्याका घटनाले जिल्लामा मानसिक स्वास्थ्य तथा सामाजिक समस्याहरू चुनौतीका रूपमा देखिएको छ। सरोकारवाला निकायले यस विषयमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयले बताएका छन्।





