सर्लाही – जिल्ला प्रहरी कार्यालय रौतहटले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई हैरानी दिने कार्यमा संलग्न एक जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो करिब १ः३० बजेको समयमा गौर नगरपालिका वडा नं. ३ स्थित यातायात व्यवस्था कार्यालयको कम्पाउण्ड भित्रबाट प्रहरीले लक्ष्मी कुमार केशरीलाई नियन्त्रणमा लिएको हो । ४० वर्षीय केशरी गौर न.पा. वडा नं. ५ दोस्तिया टोलका बासिन्दा हुन् ।

प्रहरीका अनुसार केशरीले यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिने बहानामा अनावश्यक झन्झट दिने र हैरानी पार्ने गरेका थिए । उनले सेवाग्राहीका कागजातहरू बोकी विभिन्न फाँटहरूमा जाने र ‘सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु’ भन्दै विभिन्न प्रलोभन देखाई मोलमोलाई गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् । प्रहरीले सरकारी कार्यालयहरूमा हुने यस्ता बिचौलिया गतिविधिविरुद्ध निगरानी बढाएको र कोही कसैलाई पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ ।





