उच्च अदालतको फैसला: धनकौल–५ का वडा अध्यक्षसहित ८ जना निर्दोष ठहर

२०८३ बैशाख १०, बिहीबार ०७:३६

मलंगवा – सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोसहित आठ जनालाई उच्च अदालत जनकपुरले निर्दोष ठहर गरेको छ। बुधबार सुनाइएको फैसलामा अदालतले उनीहरूविरुद्ध लगाइएको ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी आरोप पुष्टि हुन पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै सफाइ दिएको हो।

यसअघि सर्लाही जिल्ला अदालतले उक्त घटनामा संलग्न ठहर गर्दै उनीहरूलाई दोषी करार गरेको थियो। सोही फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै सबै प्रतिवादीलाई निर्दोष ठहर गरेको हो।

उच्च अदालतका न्यायाधीश बलभद्र बास्तोला र मेहन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले प्रस्तुत प्रमाण, घटनाको परिस्थितिजन्य विवरण तथा कानुनी आधारहरूको सूक्ष्म विश्लेषणपछि आरोप पुष्टि हुने ठोस आधार नदेखिएको जनाएको छ। इजलासले अभियोजन पक्षबाट प्रस्तुत प्रमाणहरू पर्याप्त र विश्वसनीय नरहेको ठहर गर्दै प्रतिवादीहरूलाई सफाइ दिएको हो।

२०८० सालतिर गाउँमा भएको झडपका क्रममा केही व्यक्ति घाइते भएका थिए। सोही घटनालाई आधार बनाई वडाध्यक्ष महतोसहितका व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग तथा अंगभंग कसुरमा मुद्दा दर्ता गरिएको थियो। त्यसपछि २०८० कार्तिक २१ गते सर्लाही जिल्ला अदालतले घटनामा दोषी ठहर गर्दै महतोसहितका प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो।

त्यसपछि उच्च अदालत जनकपुरले उक्त आदेशलाई बदर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ६८ र ७२ अनुसार प्रतिवादी गजेन्द्र महतोलाई दुई लाख ५० हजार रुपैयाँ नगद वा जेथा जमानतमा तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसयता मुद्दा पुनरावेदनको प्रक्रियामा रहेको थियो।

स्थानीय तहमा भने उक्त मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दायर गरिएको हुनसक्ने चर्चा हुँदै आएको थियो। उच्च अदालतको पछिल्लो फैसलापछि सरोकारवालाहरूले प्रमाण र कानुनी आधारका आधारमा न्याय भएको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार