मलंगवा – जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइएका करिब २२ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
मंगलबार साँझ करिब ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी इकाइहरूले छुट्टाछुट्टै स्थानमा चेकजाँचका क्रममा अवैध सामग्री नियन्त्रणमा लिएका हुन्।

प्रहरीका अनुसार गोडैता नगरपालिका – १२ पश्चिम टोलस्थित प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीको गस्ती टोलीले टाउकोमा बोकी ल्याइँदै गरेको ११ थान प्लास्टिक त्रिपाल बरामद गरेको छ। उक्त त्रिपालको अनुमानित मूल्य ११ हजार रुपैयाँ रहेको छ।
यसैगरी, ब्रह्मपुरी गाउँपालिका – ७ कदम चोकस्थित अस्थायी प्रहरी पोस्ट नोकैल्वाबाट प्रहरी सहायक निरीक्षक रामसोगारथ यादवको नेतृत्वमा खटिएको चेकिङ टोलीले चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएको १०० केजी चिनी र ९ पिस डिउ बरामद गरेको जनाएको छ।
ती सामग्रीको अनुमानित मूल्य करिब ११ हजार रुपैयाँ रहेको छ। बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।





