सर्लाही – बाराको कलैयास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका तत्कालीन निमित्त प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार लामो समयको अनुसन्धानपछि यादवले पदमा रहँदा अनियमितता गरी स्रोत नखुलेको सम्पत्ति जोडेको निष्कर्ष निकालिएको हो। २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको अवधिलाई आधार मानेर गरिएको छानबिनमा उनको परिवारको वैध आम्दानी ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ देखिएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, शेयर लगानी, अध्ययन खर्च तथा ऋण भुक्तानीलगायत शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च भएको पाइएको छ।
यसले आम्दानीभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी खर्च भएको देखाएको छ, जसको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ। उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै आयोगले यादवसँगै उनकी श्रीमती निर्मला कुमारीलाई पनि प्रतिवादी बनाएको छ।





