रास्वपाको संगठनात्मक बैठक जनकपुरधाममा सम्पन्न

२०८३ बैशाख ११, शुक्रबार २०:२१

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठनात्मक बैठक शुक्रबार जनकपुरधाम – ९ स्थित मधेश प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ।

प्रदेश सभापति तथा सांसद इञ्जिनियर तपेश्वर यादवको अध्यक्षतामा आयोजित बैठकमा केन्द्रीय संगठन विभागका उपप्रमुख तथा सांसद बोधनारायण श्रेष्ठ, केन्द्रीय सदस्य तथा सांसद कामनी चौधरी, डा. विमल तिवारीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा मधेश प्रदेशअन्तर्गतका आठै जिल्लाका सभापति, सचिव तथा संगठन विभागका पदाधिकारीहरू सहभागी भएका थिए। पार्टीका महामन्त्री मनिष साहका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि पाँच बुँदे निर्णय गरेको छ।

निर्णयअनुसार प्रदेशभित्र बाँकी रहेका वडा र पालिकास्तरका तदर्थ समिति जेठ मसान्तभित्र गठन गरिने र गठन भइसकेकालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।

त्यस्तै, संगठन निर्माण तथा अधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित निकायलाई कम्तीमा तीन दिनअघि जानकारी गराई सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने व्यवस्था मिलाइनेछ। यस्ता कार्यक्रममा सम्बन्धित क्षेत्रका सांसदको उपस्थितिका लागि प्रदेश समिति वा संगठन विभागले समन्वय गर्ने निर्णय गरिएको छ।

बैठकले प्रदेश संगठन विभागका रिक्त पदहरू पूर्ति गर्न जिल्ला समितिलाई एक साताभित्र सिफारिस पठाउन निर्देशन दिएको छ भने जिल्ला र पालिका तहका संगठन विभागलाई पूर्णता दिन पनि जोड दिएको छ। साथै, लेबी शुल्क नतिरेका पदाधिकारीलाई अधिवेशनमा सहभागी हुन नदिने निर्णयसमेत गरिएको छ।

यसैगरी, मधेश प्रदेशका जिल्लाहरूमा सुक्खा याममा हुन सक्ने खानेपानी संकटलाई ध्यानमा राख्दै पूर्वतयारी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको महामन्त्री साहले जानकारी दिएका छन्।

बैठकलाई सम्बोधन गर्दै प्रदेश सभापति यादवले पार्टीभित्र गुटबन्दी र अनुशासनहीन गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। उनले पार्टी हितविपरीत कार्य गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार