भूकम्पीय जोखिम न्यूनीकरणका लागि जनचेतना फैलाउन राष्ट्रपति पौडेलको जोड

२०८३ बैशाख १२, शनिबार ०७:२८
file image

सर्लाही – राष्ट्रपति रामचन्द्र पौडेल आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य तथा सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

१०औँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै उनले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको नेपालमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताएका हुन्। उनले यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले गोरखाको बारपाक केन्द्रविन्दु भई १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको स्मरण गरेका छन्।

उनले भूकम्पलाई रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, सुरक्षित निर्माण र सतर्कता अत्यावश्यक रहेको बताएका छन्। प्रत्येक वर्ष तीव्र शहरीकरणका कारण भूकम्पीय जोखिम थप बढ्दै गएको उनको भनाइ छ।

नेपालको भौगोलिक अवस्थिति, भौतिक संरचनाको प्रकृति तथा मानव निर्मित पूर्वाधारहरू भूकम्पीय जोखिमका प्रमुख कारण भएकाले सुरक्षित निर्माणलाई प्राथमिकता दिनुपर्ने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।

नवनिर्मित तथा पुनर्निर्मित संरचनामा मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनुपर्नेमा जोड दिँदै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार