मलंगवा – सर्लाहीको धनकौल गाउँपालिका – ४ मैनाथपुर पकाहा टोलमा चट्याङ परेर आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ भने एक जना घाइते भएका छन्। शनिबार राति करिब ११:३० बजे परेको चट्याङका कारण स्थानीय राम स्वरुप रायका छोरा अन्दाजी ६० वर्षीय सिताराम यादव घाइते भएका हुन्।
उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पताल लगिएको छ। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको जनाइएको छ।

घटनाबारे आईतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहेको पशुचौपाया, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीमा ९ वटा बाख्रा र ५ वटा भैंसी जलेर मरेका छन् भने एक वटा पाडा घाइते भएको छ। त्यसैगरी, घरमा राखिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मसुरोको दाल, भाडा बर्तन तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





