मलंगवा – सर्लाहीको नेपाल–भारत सीमामा तस्करी रोकिएको छैन। सीमामा सुरक्षाकर्मीको कडाइ बढाइएको दाबी गरिए पनि त्यसको प्रत्यक्ष असर भने सर्वसाधारणमा परेको गुनासो बढ्दो छ।
दैनिक आवतजावत गर्ने स्थानीयहरू अनावश्यक जाँच, सोधपुछ र निगरानीका कारण हैरानी खेपिरहेका छन्, जबकि तस्करी गतिविधि भने रोकिएको देखिँदैन। सर्लाहीका पूर्वीदेखि पश्चिमसम्मका विभिन्न नाकाबाट अवैध रूपमा सामान ओसारपसार हुने क्रम निरन्तर जारी रहेको तथ्य पछिल्ला घटनाले पुष्टि गरेका छन्।

नारायणपुरमा लाखौँका कपडा बरामद, तस्कर फरार
यसैक्रममा सर्लाहीको पर्सा गाउँपालिका – ३ नारायणपुर चौकस्थित नेपाल–भारत सीमा क्षेत्रमा नारायणपुर प्रहरी चौकीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका लाखौँ मूल्य बराबरका कपडाहरू बरामद गरेको छ।
बिआर ३० एफ ३०८७, बिआर ३० एच ०५३५, बिआर ३० एच २६२८ र बिआर ३० टी ६९८६ नम्बरका चारवटा भारतीय मोटरसाइकलमा ६ बोरा कपडा लोड गरेर ल्याउँदै गर्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट र प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीको टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।
प्रहरीको टोलीले चेकजाँच तीव्र बनाएको देखेपछि तस्करहरू मोटरसाइकल र कपडाका बोरा छाडेर फरार भएको बताईएको छ। बरामद गरिएको सामान मलङ्गवा भन्सार कार्यालयमा बुझाइएको छ भने फरार तस्करहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
तस्करी झन् संगठित, ‘लाइन मिलाएर’ कारोबारको आरोप
स्थानीयवासीका अनुसार यस्ता घटनाहरू तस्करी नियन्त्रणको सफलता होइन, बरु यसको संगठित स्वरूप झन् बलियो हुँदै गएको संकेत हुन्।
सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरू संग्रामपुर, सखुअवा, नारायणपुर, त्रिभुवननगरदेखि पश्चिमतर्फ भाडसर, बहादुरपुर, सिमरा, अर्नाहा, मधुवनी, बलरा र छनकीसम्म तस्करीका स्थायी ‘रुट’ नै स्थापित भइसकेको दाबी गरिएको छ।
स्थानीयका अनुसार तस्करहरूले सुरक्षाकर्मीहरूसँग ‘लाइन मिलाएर’ दिनदहाडै सामान ओसारपसार गर्ने गरेका छन् भने रातिको समयमा तस्करी अझ तीव्र हुने गरेको बताइन्छ। यसरी तस्करी मौलाउँदा सर्वसाधारण भने चेकजाँचको नाममा झन् बढी सास्ती खेप्न बाध्य भएका छन्।
भारतीय पक्ष सक्रिय: ठूलो परिमाणमा सामान नियन्त्रण, यहाँ मिलेमतोको आशंका
यता, भारतीय सुरक्षा निकायले भने सर्लाही सीमाबाट भइरहेको तस्करी नियन्त्रणका लागि कडाइ बढाएको देखिन्छ।
भारतको सीतामढी जिल्ला सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ले हालै सखुअवा र संग्रामपुर नाका हुँदै भारततर्फ लगिँदै गरेको दुईवटा महिन्द्रा बोलेरो पिकअपसहित ठूलो परिमाणमा चिनियाँ सामान नियन्त्रणमा लिएको थियो।
एसएसबीले नियन्त्रणमा लिएको उक्त सामानमा ६७ बोरा (करिब १२०६ किलोग्राम) चिनियाँ लसुन र करिब ३७२४ किलोग्राम खरबुजाको बीउ रहेको जनाइएको छ। भारतीय पक्षले प्राप्त सूचनाका आधारमा सीमा क्षेत्रमा निगरानी बढाउँदै पाल टाँगेर बस्न थालेपछि सर्लाहीबाट संगठित रूपमा तस्करी भइरहेको यथार्थ थप उजागर भएको स्थानीयहरूको भनाइ छ।
पछिल्ला घटनाक्रमले सर्लाहीमा तस्करी सञ्जाल केवल सीमित समूहमा मात्र सीमित नरही ‘माथिदेखि तलसम्म’ फैलिएको संरक्षित नेटवर्क हुनसक्ने आशंका बलियो बनाएको छ। केही समयअघि यस्तै प्रकरणमा मधेश प्रदेशका उच्च तहका सुरक्षा अधिकारीहरू समेत विवादमा तानिनुले अवस्था झन् गम्भीर बनेको छ।
प्रभावकारी अनुगमन र कडाइका कदम नचालिएसम्म सीमामा तस्करी नियन्त्रणमा आउन कठिन देखिएको छ। परिणामतः सर्वसाधारणले दुःख पाइरहेका छन् भने तस्करहरू भने अझै ‘मस्ती’मै रहेको आरोप झन् चर्किंदै गएको छ।





