मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका – १५ सुक्नाहा चोकमा कुटपिट हुँदा जन्ती आएका दुई जना घाइते भएका छन्। घटनामा एक मोटरसाइकलमा समेत क्षति पुगेको छ।
आइतबार राति करिब २२:३० बजेको समयमा महोत्तरीको गौशाला नगरपालिका – ७ मनहर्वाबाट सर्लाही ब्रह्मपुरी गाउँपालिका – ७ मोहनगञ्जतर्फ जन्ती बोकेर मोटरसाइकलमा जाँदै गरेका व्यक्तिहरू र स्थानीय केही अज्ञात व्यक्तिहरूबीच विवाद भएपछि कुटपिट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय अन्दाजी ६/७ जना युवाहरूले गालीगलौज गरेपछि विवाद चर्किँदै झडपमा परिणत भएको हो। सो क्रममा जन्ती पक्षका दुई जना घाइते भएका छन्। घाइते हुनेमा महोत्तरी गौशाला नगरपालिका – ७ मनहर्वा बस्ने सुरेश प्रसाद यादवका छोरा अन्दाजी २७ वर्षीय सुजित यादव रहेका छन्। उनको टाउको र बायाँ हातको औंलामा चोट लागेको छ।
त्यस्तै, सोही ठाउँका रामबीर राय यादवका छोरा अन्दाजी ३२ वर्षीय शुशिल यादवको टाउकोमा चोट लागेको छ। दुवै घाइतेको हरिपुर्वा नगर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेका र उनीहरूको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





