सर्लाहीमा भन्सार छलिको सामानसहित चार मोटरसाइकल नियन्त्रणमा

२०८३ बैशाख १५, मंगलवार १०:१३
File image

मलंगवा – सर्लाहीमा प्रहरीले भन्सार छलि नेपाल भित्र्याइएका कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले गएराति करिब १२ बजे पर्सा गाउँपालिका क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका मोटरसाइकलहरू फेला पारेको हो।

प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकलमा सवार व्यक्तिहरू सामानसहितका सवारी साधन त्यहीँ छाडेर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट कपडा, किराना सामान तथा चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको जनाएको छ।

बरामद सामान र मोटरसाइकलको कुल अनुमानित मूल्य ६ लाख ७२ हजार ५ सय रुपैयाँ रहेको छ। प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको जनाएको छ। – सरोज यादवबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार