नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने रौतहटका एक जनासहित ६ जना पक्राउ

२०८३ बैशाख १५, मंगलवार १५:५६
साङ्केतिक तस्बिर

सर्लाही – नक्कली मुद्रालाई सक्कली भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका एक जनासहित विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्।

पक्राउ पर्नेहरूमा बारा बस्दै आएका उदयपुर घर भएका ३८ वर्षीय मिलनकुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका–७ का २६ वर्षीय योगबहादुर तामाङ, ३६ वर्षीय भविन्द्रकुमार तामाङ, चितवन रत्ननगर नगरपालिका–५ का ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका–१ की २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका–५ का ३८ वर्षीय सत्यानारायण चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले सक्कलीजस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न तथा प्रयोग गर्न सकिने भन्दै सर्वसाधारणलाई विश्वासमा पार्थे। त्यसपछि सक्कली रकमको दुई गुणासम्म नक्कली मुद्रा दिने प्रलोभन देखाई पीडितहरूलाई ठगी गर्दै आएका थिए।

यस सम्बन्धमा प्राप्त सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार