वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने सर्लाहीका एकसहित दुई जना पक्राउ

२०८३ बैशाख १६, बुधबार ०७:०४

सर्लाही – वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका एक जनासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रौतहटको राजपुर नगरपालिका – ६ घर भई हाल काठमाडौं महानगरपालिका – २६ बस्दै आएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाहीको हरिपुर नगरपालिका – २ घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय मोहन कुमार थापा रहेका छन्।

प्रहरीका अनुसार दिपक कुमार जयसवालले एक जना पीडितलाई बेलायत पठाइदिने प्रलोभन देखाएर १ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए। त्यस्तै, मोहन कुमार थापाले दुई जना पीडितलाई बुल्गेरिया पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले जयसवाललाई काठमाडौंको नागार्जुन नगरपालिका – ८ बाट सोमबार पक्राउ गरेको जनाएको छ भने थापालाई आइतबार काठमाडौं महानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय आकर्षक देशमा रोजगारी दिलाइदिने बहानामा ठगी गर्ने गिरोह सक्रिय भइरहेकाले प्रहरीले सर्वसाधारणलाई सचेत र सतर्क रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार