सर्लाही – पाकिस्तानको उत्तरी सिन्धस्थित शिकारपुर जिल्लामा एउटा बाख्रा चोरीको विवादले सुरु भएको दुश्मनीले ९ वर्षमा ४८ जनाको ज्यान लिएको छ । ‘जुनेजो’ र ‘कल्होडा’ समुदायबीचको यो विवाद सानो आरोपबाट सुरु भए पनि पछि सशस्त्र संघर्षमा परिणत भएको हो ।
स्थानीयका अनुसार नौ वर्षअघि एउटा बाख्रा चोरीको आरोप कल्होडा समुदायका व्यक्तिमाथि लागेको थियो । बाख्राका धनीले तीन जनालाई माफी दिए पनि एक जनालाई माफ गर्न अस्वीकार गरेपछि विवाद चर्किँदै गएको बताइएको छ । पछि दुवै समुदायबीचको तनाव हिंसात्मक संघर्षमा बदलिएको थियो ।

बीबीसीका अनुसार अहिले दुवै समुदायले एक अर्काको क्षेत्रलाई ‘प्रवेश निषेध’ जस्तै बनाएका थिए । कल्होडा समुदायको गाउँ ‘मीरल कल्होडा’ मा आरपीजी मोर्टार, एलएमजी र एसएमजी जस्ता अत्याधुनिक हतियार खुलेआम राखिएका थिए भने गाउँभरि सुरक्षाका लागि बालुवाका बोरा र माटोको मोर्चा निर्माण गरिएको थियो ।
स्थानीय हफिज कल्होडाका अनुसार संघर्ष उत्कर्षमा पुगेका बेला सुरक्षा र हतियार व्यवस्थापनमै मासिक ५० लाख रुपैयाँसम्म खर्च हुने गरेको थियो । विवादका कारण विद्यालय बन्द भएका थिए भने व्यापार व्यवसायसमेत प्रभावित बनेको थियो । स्थानीयवासीहरू आफ्नै क्षेत्रबाट बाहिर निस्कन डराउने अवस्था सिर्जना भएको बताइएको छ ।
दुवै पक्षका अधिकांश पुरुषविरुद्ध विभिन्न मुद्दा दर्ता भएपछि उनीहरू प्रहरी कारबाही र विरोधी समुदायको आक्रमण दुवैको त्रासमा बाँचिरहेका थिए । जुनेजो समुदायका कुर्बान अली जुनेजोले यस हिंसामा आफ्नो भाइ र दुई भतिजा गुमाएको बताएका छन् । उनका अनुसार जुनेजो समुदायका मात्रै २३ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो महिना भने दुवै पक्षले स्थानीय पञ्चायतमार्फत विवाद समाधानको प्रयास थालेका छन् । त्यसपछि केही क्षेत्रमा पहरा खुकुलो पारिएको छ र स्थानीयमा शान्तिको आशा पलाउन थालेको छ । यद्यपि अदालत र कानुनी संयन्त्र हुँदाहुँदै अनौपचारिक पञ्चायतमार्फत विवाद टुंग्याउने प्रयासप्रति केहीले प्रश्नसमेत उठाएका छन् । – बिबिसी हिन्दि





