यी जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने, सतर्क रहन आग्रह

२०८३ बैशाख १६, बुधबार १०:०७

सर्लाही – जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५ः४५ बजे र समाप्त हुने समय बिहीबार बिहान ७ः४५ बजे रहने जनाएको छ । पश्चिमी प्रणाली पूर्वतर्फ सक्रिय बन्दै गएकाले देशका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने बताइएको छ ।

प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, यातायात तथा विद्युत् सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साथै कमजोर संरचना, रुखमुनि तथा खुला स्थानमा नबस्न र सुरक्षित स्थानमा रहन पनि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार