सर्लाही – मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले रौतहट जिल्लामा अतिक्रमण गरिएका सार्वजनिक जग्गा तत्काल खाली गराउन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
रौतहटका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गाको स्थलगत अनुगमनपछि गृहमन्त्री महतोले प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा वाग्मती सिँचाइ आयोजनाका जिम्मेवार अधिकारीलाई अतिक्रमण हटाउने काम तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

अनुगमनका क्रममा सार्वजनिक सम्पत्तिमाथि व्यापक अतिक्रमण भएको पाइएको भन्दै मन्त्री महतोले कानुन विपरीत कब्जा गरिएका सबै सरकारी तथा सार्वजनिक जग्गा खाली गराइने स्पष्ट पारे । उनले अतिक्रमण हटाउने अभियानमा कुनै ढिलाइ वा लापरवाही सह्य नहुने चेतावनीसमेत दिएका छन् ।
गृहमन्त्री महतोले जिल्लाभर अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने प्रक्रियाको आफैँले नियमित अनुगमन गर्ने र प्रगति विवरण प्रत्यक्ष रूपमा बुझ्ने बताए । उनले सरकारी सम्पत्तिको संरक्षण राज्यको दायित्व भएकाले सबै निकायलाई समन्वय गरेर प्रभावकारी रूपमा काम गर्न आग्रह गरे ।
उनको निर्देशनपछि जिल्लामा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियान तीव्र हुने अपेक्षा गरिएको छ ।





