रौतहटमा आफ्नै बुबाको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या, १८ बर्षपछि पक्राउ

२०८३ बैशाख १८, शुक्रबार ०९:११
साङ्केतिक तस्बिर

सर्लाही – रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका – १ ( साबिक जयनगर गाविस – ४) निवासी ४९ वर्षीय राम विलास महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार लामो समयदेखि फरार रहेका महतोलाई लुकिछिपी बसिरहेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार २०६४ साल जेठ २० गते राति साबिक जयनगर गाविस – ४ स्थित गोठघरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। घटनापछि अभियुक्त फरार रहेका थिए।

प्रारम्भिक अनुसन्धानबाट हत्याको मुख्य कारण ऋण र जग्गा विवाद रहेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धान अनुसार राम विलासले गाउँका विभिन्न व्यक्तिसँग ऋण लिएका थिए भने अड्डा अदालतमा जग्गा किचलो सम्बन्धी मुद्दासमेत चलिरहेको थियो।

प्रहरीका अनुसार मुद्दा व्यवस्थापन गर्न आर्थिक समस्या भएपछि उनले आफ्नै बुबाको हत्या गरी विपक्षीहरूलाई ज्यान मुद्दामा फसाउने योजना बनाएका थिए। विपक्षीहरू जेल गए ऋण तिर्न नपर्ने र जग्गा विवाद पनि आफ्नो पक्षमा जाने उनको योजना रहेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि शंका आफू माथि आउन सक्ने डरले राम विलास स–परिवार फरार भएका थिए। प्रहरीले निरन्तर खोजतलास तथा सूक्ष्म अनुसन्धान जारी राख्ने क्रममा उनलाई घटनाको १८ वर्षपछि अर्थात् २०८३ वैशाख १६ गते चितवनबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार