लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका – ४ हरिवनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन्। शुक्रबार दिउँसो हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा साइकलको पछाडि सवार लालबन्दी नगरपालिका – ९ निवासी करिब ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ। साइकल चालक उनका बुबा करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ।

उनको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक लालबन्दी नगरपालिका – १७ निवासी करिब ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको जनाएको छ।
बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





