महाेत्तरीको सीमावर्ती क्षेत्रबाट ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा

२०८३ बैशाख १९, शनिबार २०:५१

सर्लाही – महोत्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइँदै गरेको स्याउ बरामद गरेको छ। शनिबार गरिएको सुरक्षा जाँचका क्रममा करिब ६ हजार किलोभन्दा बढी स्याउसहित तीन वटा सवारी साधन नियन्त्रणमा लिइएको हो।

मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले जाँच गर्ने क्रममा विभिन्न नम्बरका गाडीमा लुकाइछिपाइ ल्याइँदै गरेको स्याउ फेला पारेको जनाएको छ।

नियन्त्रणमा लिइएका सवारीमा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका गाडी रहेका छन्। सशस्त्र प्रहरी बल महोत्तरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गाडीहरूबाट ३४५ कार्टुनमा प्याक गरिएको ६ हजार ९ किलोग्राम स्याउ बरामद गरिएको हो।

बरामद गरिएको स्याउ तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महोत्तरी पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने चोरीपैठारी तथा अवैध ओसारपसार रोक्न पछिल्लो समय निगरानी र चेकजाँच थप कडाइका साथ सञ्चालन गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार