प्रचण्ड निकट नेतृ यादवले लिइन दलीय राजनीतिबाट सन्यास, अब स्वतन्त्र भएर काम गर्ने घोषणा

२०८३ बैशाख १९, शनिबार २१:५५

सर्लाही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ निकट नेतृ पुनम यादवले दलीय राजनीतिबाट अलग हुने घोषणा गरेकी छन् ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेकी यादवले शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै तत्कालका लागि कुनै पनि राजनीतिक दल वा समूहमा आबद्ध नरहने निर्णय गरेको जानकारी दिएकी हुन् ।

उनले नेकपामा आफ्नो १० वर्षभन्दा बढीको राजनीतिक यात्रा इमान्दारपूर्वक बिताएको उल्लेख गर्दै विभिन्न कारणले अब दलीय राजनीतिबाट विश्राम लिनुपरेको बताएकी छन् । “अबका दिनमा कुनै पनि राजनीतिक दल वा समूहसँग आबद्ध नभई स्वतन्त्र रूपमा काम गर्ने घोषणा गर्दछु,” यादवले वक्तव्यमा भनेकी छन् ।

साथै, आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग र हौसला दिने सम्पूर्णप्रति उनले आभारसमेत व्यक्त गरेकी छन् । यादव गत प्रतिनिधिसभा निर्वाचनमा रौतहट – ३ बाट नेकपाको तर्फबाट उम्मेदवार बनेकी थिइन् । राजनीतिक वृत्तमा सम्भावना बोकेकी नेतृका रूपमा चिनिएकी उनी नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पनि सक्रिय रहँदै आएकी थिइन् ।

भारतीय धार्मिक गुरु तथा बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध रहेकी यादवले यसअघि विभिन्न भारतीय कलाकार र धर्मगुरुलाई नेपाल ल्याउन पहलसमेत गरेकी थिइन् । यद्यपि, उनले दलीय राजनीतिबाट टाढिने निर्णय कुन कारणले लिइन् भन्नेबारे भने खुलाएकी छैनन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार