सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बमजनलाई सफाइ

२०८३ बैशाख २०, आईतवार १९:४८
file image

सर्लाही – लिटिल बुद्धका रूपमा परिचित रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध दायर मुद्दामा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते उक्त मुद्दाको फैसला सुनाएको थियो।

बमजनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो। अदालतबाट सफाइ पाएसँगै उनी सर्लाही कारागारबाट रिहा भइसकेको प्रहरीले जनाएको छ। यसअघि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

अनुसन्धानका क्रममा चितवनस्थित करिब ६४ लाख रुपैयाँ मूल्य बराबरको जग्गा तथा बरामद नगदलाई आधार बनाएर मुद्दा चलाइएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामो अनुसन्धानपछि बमजनलाई २०८० पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

पक्राउका बेला उनीसँग विभिन्न १७ देशका मुद्रा सहित करिब ३० लाख ९२ हजार रुपैयाँ बराबरको विदेशी रकम र ३ करोड ३४ लाख रुपैयाँ नेपाली नगद बरामद भएको प्रहरीको दाबी थियो। यद्यपि, बमजनविरुद्धको बाल यौन दुरूपयोगसम्बन्धी मुद्दा भने अझै सर्वोच्च अदालतमा विचाराधीन छ।

जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते उनलाई १० वर्ष कैद र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, उक्त फैसला उच्च अदालत जनकपुरले उल्टाउँदै २०८१ चैत ६ गते उनलाई सफाइ दिएको थियो। त्यसपछि महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेसँगै अहिले उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार