सर्लाही – बारा जिल्लामा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको छ । अनुकूल मौसम नहुँदा उत्पादनमा करिब २० प्रतिशत कमी आएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर किसानहरूले २९ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेका थिए ।
प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुने अनुमान गरिए पनि वास्तविक उत्पादन दुई दशमलव ४८ मेट्रिकटनमा सीमित भएको छ । यससँगै जिल्लामा कुल ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले बताए ।

गत वर्षको तुलनामा यस पटक १७ हजार ९८० मेट्रिकटन कम गहुँ उत्पादन भएको केन्द्रले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो । उत्पादन घटे पनि यस वर्ष उत्पादन भएको गहुँको गुणस्तर राम्रो रहेको कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए ।
उनका अनुसार कलैयासहित आसपासका बजारमा गहुँ प्रतिक्विन्टल करिब चार हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । कृषि क्षेत्रका जानकारहरूका अनुसार समयमा वर्षा नहुनु तथा तापक्रममा आएको असन्तुलनका कारण गहुँ बाली प्रभावित बनेको हो ।





