सरकार छोड्ने निर्णय विवादपछि जनमतमा नेतृत्व फेरबदल

२०८३ बैशाख २२, मंगलवार १२:१९

सर्लाही – जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेतृत्व परिवर्तन गरेको छ। पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले चन्दन कुमार सिंहलाई नयाँ संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन्।

मंगलबार पार्टीको केन्द्रीय कार्यकारिणी समितिद्वारा जारी पत्रअनुसार उक्त निर्णय तत्काल लागू हुने गरी गरिएको जनाइएको छ। पत्रमा पार्टीको आन्तरिक जिम्मेवारी हेरफेर अन्तर्गत सिंहलाई मधेस प्रदेश संसदीय दलको नेतामा नियुक्त गरिएको उल्लेख गरिएको छ।

यस निर्णयबारे जनमत पार्टीले मधेस प्रदेशसभा सचिवालय तथा संसदीय दललाई औपचारिक जानकारीसमेत गराइसकेको जनाएको छ। यसअघि उक्त जिम्मेवारी महेशप्रसाद यादवले सम्हाल्दै आएका थिए।

पार्टी स्रोतका अनुसार सरकारबाट बाहिरिने निर्णयमा यादवको असहमति देखिएपछि नेतृत्व परिवर्तन गरिएको हो। सोमबार मात्रै जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेको थियो। नवनियुक्त नेता चन्दन कुमार सिंह पार्टीका केन्द्रीय सचिवसमेत हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार