गोडैता नगरपालिकाद्वारा ३५ दिनभित्र सरकारी र सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम

२०८३ बैशाख २२, मंगलवार १७:३५

मलंगवा – सर्लाहीको गोडैता नगरपालिकाले नगर क्षेत्रभित्र अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै अनधिकृत रूपमा कब्जा गरी निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो। जारी सूचनामा सरकारी तथा सार्वजनिक जग्गा विभिन्न व्यक्ति वा संस्थाले अनधिकृत रूपमा प्रयोग गरेको पाइएकाले त्यस्ता संरचना तत्काल हटाउन आग्रह गरिएको उल्लेख छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने दायित्व स्थानीय तहको भएकाले सोही व्यवस्थाअनुसार अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा स्थानीय तहको कार्ययोजनाअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणका लागि डिजिटल अभिलेखीकरण, निगरानी प्रणाली सुदृढीकरण तथा अतिक्रमण हटाउने कार्य अगाडि बढाइएको छ।

सूचनामा नगर क्षेत्रभित्रका खाली प्रकृतिका सरकारी तथा सार्वजनिक जग्गामा बनाइएका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले ३५ दिनभित्र स्वेच्छाले हटाउनुपर्ने उल्लेख गरिएको छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाए नगरपालिकाले कानुनबमोजिम हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकारीबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार