मलंगवा – सर्लाहीको रामनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र अतिक्रमण गरी प्रयोग भइरहेका सरकारी तथा सार्वजनिक जग्गा तत्काल खाली गर्न निर्देशन दिएको छ। पालिकाले एक सूचना जारी गर्दै सार्वजनिक, पर्ती, सरकारी, नदी उकास, सडक किनार तथा कुनै व्यक्ति वा संस्थाको निजी स्वामित्व नभएका जग्गा अनधिकृत रूपमा प्रयोग नगर्न निर्देशन दिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबाबु यादवद्वारा हस्ताक्षरित सूचनामा यस्ता सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरिएको छ। कसैले सरकारी वा सार्वजनिक जग्गा कब्जा गरी निजी प्रयोजनमा प्रयोग गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचना उल्लेख गरिएको छ।

गाउँपालिकाले स्थानीयवासीलाई आफ्नो आसपासमा सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी पाए सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा खबर गर्न समेत आग्रह गरेको छ। साथै, अनधिकृत रूपमा सरकारी तथा सार्वजनिक जग्गा प्रयोग गर्ने व्यक्ति वा संस्थालाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा समेत रोक्का गर्न सकिने चेतावनी दिइएको छ।






