चन्द्रनगरमा सूचना पारदर्शिताको माग, उपभोक्ता समिति गठन प्रक्रियामाथि प्रश्न

२०८३ बैशाख २३, बुधबार १२:२८

मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सञ्चालन हुन लागेका विकास योजनासम्बन्धी सूचना सार्वजनिक नगरिएको भन्दै स्थानीय स्तरमा पारदर्शिताको माग उठेको छ।

जनता समाजवादी पार्टी, नेपालका स्थानीय नेता नन्दलाल रायले गाउँपालिकामा निवेदन दिँदै आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन हुने योजनाहरूको उपभोक्ता समिति गठन प्रक्रिया सार्वजनिक सूचनामार्फत जानकारी नगराइएकोमा आपत्ति जनाएका छन्।

उनले उपभोक्ता समिति गठन, दाबी विरोध प्रक्रिया तथा सम्बन्धित सम्पूर्ण योजनाको विस्तृत विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्न माग गरेका छन्।

निवेदनमा हालै सम्पन्न चलचित्र महोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा गाउँपालिकाले कति बजेट खर्च गरेको हो भन्ने स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै, आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाबाट भएका सम्पूर्ण खर्च, विशेषगरी इन्धन, कार्यक्रम तथा विभिन्न योजनाअन्तर्गत कुन शीर्षकमा कति रकम खर्च गरिएको हो भन्ने विस्तृत प्रतिवेदन उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

रायले सूचना अधिकारीमार्फत नियमअनुसार माग गरिएको जानकारी समयमै उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता हुनुपर्ने बताएका छन्।

स्थानीय तहमा विकास योजना कार्यान्वयन र बजेट खर्चसम्बन्धी सूचना सार्वजनिक हुनुपर्ने मागसँगै जनप्रतिनिधि र सरोकारवालाबीच पारदर्शिताको बहस थप चर्किएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार