सर्लाही – धनुषा जिल्ला अदालतले सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई जन्मकैदको सजाय सुनाएको छ। मिथिला बिहारी नगरपालिका – १० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डल दोषी ठहरिएका हुन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार जन्मकैदको सजाय तोकेको हो। फैसला गत बिहीबार सुनाइएको भए पनि मङ्गलबार प्रमाणीकरण गरिएको अदालतले जनाएको छ।

२०७८ फागुन २८ गतेको घटनामा मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पुर्याइदिने बहानामा साइकलमा राखी गाउँ बाहिर खेतमा लगेर जबरजस्ती करणी गरेको पुष्टि भएको अदालतको ठहर छ।
मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाको विवरण, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणहरूले कसुर प्रमाणित गरेको अदालतले जनाएको छ।
साथै, अदालतले पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिएको छ।





