मलंगवा – सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका – ९ स्थित संग्रामपुर–बाँके सडक खण्डअन्तर्गत खिला नजिक आज ( बिहिबार ) बिहान बस र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
बिहान करिव साँढे ८ बजे संग्रामपुरबाट बाँकेतर्फ जाँदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना ४८ प ४७० नम्बरको अपाचे मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका – १२ कान्तिबजार बस्ने अन्दाजी ३५ वर्षीय श्याम ठाकुर (पप्पु) गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा बिहान ०९:३५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि बस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक सर्लाहीको कविलासी नगरपालिका – १ सलेमपुर बस्ने अन्दाजी ४५ वर्षीय बद्री मण्डल फरार रहेका छन्।
उनको खोजिकार्य तिब्र रुपमा भईरहेको तथा यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईले जानकारी दिए।





