सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि (मंगलबार) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका एक उच्च अधिकारीका अनुसार नतिजा अन्तिम चरणको प्राविधिक तयारीमा पुगेको छ। उनले भने, “विभिन्न जिल्लाबाट आएका प्राप्ताङ्क रुजु गरी कम्प्युटरमा प्रविष्ट गर्ने काम हिजै सम्पन्न भइसकेको छ। आज हामी प्राविधिक टोलीलाई अन्तिम डाटा हस्तान्तरण गर्छौं। कुनै त्रुटि नदेखिए भोलिसम्म नतिजा सार्वजनिक हुन्छ।”

यस वर्ष एसईई नतिजा प्रकाशन प्रक्रिया विगतका वर्षभन्दा छिटो भएको छ। सामान्यतया परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा आउने गरे पनि यस पटक बोर्डले पहिलो पटक एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
यस विषयमा सरकारको तर्फबाट पनि नतिजा छिटो निकाल्ने छलफल भएको थियो। प्रारम्भमा १५ दिनमै नतिजा ल्याउने विषय उठे पनि आवश्यक सावधानी र प्राविधिक चुनौतीलाई ध्यानमा राख्दै बढीमा एक महिनाभित्र सार्वजनिक गर्ने सहमति शिक्षा मन्त्रालय र बोर्डबीच भएको जनाइएको छ।
नतिजा छिटो ल्याउन यस पटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो। साथै आवश्यक जनशक्ति पनि ठूलो संख्यामा परिचालन गरिएको बोर्डले जनाएको छ। यस वर्षको एसईई परीक्षा चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फाराम भरेका थिए।
तर, परीक्षामा कति विद्यार्थी सहभागी भए भन्ने यकिन तथ्याङ्क नतिजा सार्वजनिक हुने दिन मात्रै स्पष्ट हुने बोर्डले जनाएको छ। फाराम भरेकामध्ये २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र रहेका छन्। गत वर्ष चैत दोस्रो साता सम्पन्न एसईईको नतिजा असार १३ गते सार्वजनिक गरिएको थियो।
नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने
एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।






