सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालनमा अवरोध गर्ने तथा काम गर्न नदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । पक्राउका क्रममा घुस रकमसमेत बरामद गरिएको आयोगले जनाएको छ ।
अनुसन्धानबाट अधिकारीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस असुलेको पुष्टि भएको अख्तियारले उल्लेख गरेको छ । आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार ४० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गर्दै अदालतमा आरोपपत्र दायर गरेको हो ।
यो पनि पढ्नुहोस:
– सशस्त्रका प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ





