रौतहटमा तिन जना बालक एकैसाथ बेपत्ता

२०८३ बैशाख ३०, बुधबार १७:४९

सर्लाही – रौतहटको कटहरिया नगरपालिका – ५ कटहरिया बजार क्षेत्रबाट तीन जना बालक एकै साथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा अध्ययनरत विद्यार्थीहरू बेपत्ता भएपछि परिवारजन र स्थानीय बजार क्षेत्रमा त्रास फैलिएको छ ।

बेपत्ता हुनेहरूमा कटहरिया-५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग रहेका छन् । उनीहरू गत सोमबार (वैशाख २८ गते) देखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार सोमबार विद्यालयबाट फर्केपछि उनीहरू ‘बाहिर खेल्न जान्छौं’ भनी घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा खोजी गर्दा फेला नपरेपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालय कटहरियामा खोजीका लागि निवेदन दिएका छन् ।

बेपत्ता बालकहरूमध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजनामा थिए भन्ने कुरा साथीहरूबाट बुझिन आएको परिवारले जनाएको छ । यद्यपि, प्रहरीले यस विषयमा कुनै औपचारिक पुष्टि गरेको छैन ।

इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार तीनै जना बालकको तस्बिर र हुलियासहितको विवरण मातहतका सुरक्षा निकायहरूमा पठाइसकिएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय प्रहरीसँग पनि समन्वय गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको र यो अपहरण हो, घरबाट भागेको हो वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने जनाएको छ । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार