मलंगवा – सर्लाहीको हरिवन नगरपालिका – ११ कडरिया चौकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
गएराति करिब ११ः१५ बजेको समयमा गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.-०१-००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ बर्षका पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न नसकेको र मागीखाने व्यक्ति जस्तो देखिने प्रहरीले उल्लेख गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ। दुर्घटनामा संलग्न बस र चालक उदयपुरको त्रियुगा नगरपालिका – १० बसबारी निवासी ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





